काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ बैशाख २०८३
अ+
अ-

पर्सा। सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ।

सडक डिभिजन हेटौँडा, मालपोत तथा भूमिसुधार कार्यालय, वीरगञ्ज महानगरलगायतको संयुक्त टोलीले आज वीरगञ्जको घण्टाघर आसपासको सडकको रेखाङ्कन तथा नापजाँचको काम अघि बढाएको हो। सडक डिभिजन हेटौँडाले यही वैशाख ६ गते सो सडकखण्डमा अतिक्रमण गरेर बनाएका घर–टहरा स्काभेटर लगाएर भत्काउन थालेको थियो।

त्रिभुवन राजपथअन्र्तगत सो सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५–२५ मिटर मापदण्ड तोकिएको छ। सोही मापदण्डअनुसार सडक डिभिजन हेटौँडाले वैशाख १५ गतेदेखि सो खण्डको सडकको केन्द्रविन्दु निर्धारण गर्न सुरु गरेको हो। सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्न लागेको जानकारी दिए।

“गत वैशाख ६ गते अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काउन थालेका थियौँ”, उनले भने, “आजदेखि प्राविधिक खटाएर सडकको केन्द्रविन्दु छुट्टयाउने काम भइरहेको छ।”

वीरगञ्ज महानगरले सडकको केन्द्रविन्दुबाट २५–२५ मिटरपछि पनि थप सडकको दायाँबायाँ पाँच–पाँच फिट छोड्न निर्देशन दिएको छ।

इन्जिनियर साहले सडक विभागले गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि आवश्यक तयारी थालिसकेको बताए।

“हामीले अतिक्रमित संरचनाको साइट क्लिरेन्सलगायतको काम गरिरहेका छौँ”, उनले भने, “सडक विभागबाट डिपिआर तयार पार्ने काम भइरहेको छ।”