काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ बैशाख २०८३
अ+
अ-

मोरङ। विराटनगरको भारतीय सीमावर्ती क्षेत्रको जोगबनी बजार सुनसान बन्दै गएको छ। नेपाली बजारमा भने उपभोक्ताको चलहपहल बढ्न थालेको छ।

भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने संघीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बनेको हो।

यसअघि नेपाली उपभोक्तले जोगबनी गएर दैनिक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने गरेकामा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। विराटनगर महानगरपालिका ९ मा शुभम् इम्पोरियम सञ्चालन गर्दै आएका अशोक साहले पछिल्लो समय पसलमा स्थानीय ग्राहकको आगमन केही बढेको बताए।

उनले स्थानीय व्यापारी, उद्यामी तथा स्थानीय उत्पदानको प्रवर्द्धन गर्न सरकारको यो निर्णय प्रशंसायोग्य रहेको भन्दै यसलाई निरन्तर दिनुपर्नेमा जोड दिए।

सरकारले १०० रुपैयाँको सामान ल्याउँदा भन्सार शुल्क तिनुपर्ने नियम कार्यान्वयनमा आउनु र भन्सार कार्यालयले यसलाई कडाइ गर्दा जोगवनी बजारबाट चामल, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने नेपाली उपभोक्ताको सङ्ख्यामा कमी आएको साहले बताए। उनका अनुसार उक्त निर्णय कार्यान्वयनमा आएसँगै नेपाली बजारमा चहलपहल बढ्नुका साथै आर्थिक गतिविधि चलायमान बन्दै गएको छ।

अहिले विराटनगर बजारसहित महेन्द्र चोक, विराटनगर बसपार्क, शनि मन्दिरलगायत क्षेत्रका व्यापारिक केन्द्रमा उपभोक्ताको चलहपहल उल्लेख्य बढेको व्यवसायी साहले बताए। विगतमा साइकलमा चार-पाँच वटासम्म झोलामा खाद्यान्नसहित सामान तस्करी गर्नेहरूसमेत नियन्त्रणमा आएका उनको भनाइ छ।

भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल तिनुपर्ने संघीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि जोगबनीमा नेपाली उपभोक्ताको सङ्ख्यामा कमी देखिन थालेको उनले उल्लेख गरे। “विगतमा भारतीय बजारमा नेपाली उपभोक्ताा घुइँचो लाग्थ्यो भने नेपाली बजार सुनसान हुन्थ्ये। अहिले अवस्था परिवर्तन हुँदै गएको छ। यसले नेपाली उत्पादनले बजार पाउनुका साथै आर्थिक गतिविधि थप चलायमा बन्दै गएका छन्‚” उनले भने।

जोगबनीमा खाद्यान्न, मोबाइल, इलेक्ट्रोनिक, कपडा तथा रङ पसललगायत प्रायः सबै सामग्री पाउने पसल सुनसान बन्दै गएका छन् भने सडकमा राखेर बिक्री गरिने जुत्ताचम्पल, फलफूल, जुस, केटाकेटीका कपडालगायत पसलमा नेपालीको उपस्थिति कम देखिन थालेको स्थानीय व्यापारी बताउँछन्।

जोगबनीमा मोरङको पूर्वी राजमार्ग क्षेत्र, सुनसरीको उत्तरी क्षेत्र, धनकुटा, उदयपुरलगायत जिल्लाका विभिन्न स्थानका साथै काठमाडौँका उपभोक्तासमेत आउने गर्थे।

विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्लेले १०० रुपैयाँका सामानमा भन्सार लाग्ने नियम कडाइका साथ लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ खरिद गर्न जाने क्रम घटेको बताए। उनले पछिल्लो समय दैनिक १२ देखि १५ जनाले भन्सार महसुल बुझाउन थालेका जानकारी दिए।