काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ बैशाख २०८३
अ+
अ-

रायपुर। भारतको छत्तीसगढ राज्यस्थित काङ्केर र नारायणपुर जिल्लाको सीमावर्ती क्षेत्र छोटेबेठियामा भएको शक्तिशाली आईईडी (विस्फोटक पदार्थ) विस्फोट हुँदा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ।

मृत्यु हुनेमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का जवान रहेको स्थानीय प्रहरीले पुष्टि गरेको छ। विस्फोटमा अर्का एक जवान सख्त घाइते भएका छन्।

बस्तर रेन्जका प्रहरी निरीक्षक सुन्दरराज पी. का अनुसार, सुरक्षाकर्मीको टोलीले माओवादीहरूले लुकाएर राखेको विस्फोटक पदार्थ फेला पारी त्यसलाई निष्क्रिय (डिफ्युज) गर्ने क्रममा अचानक विस्फोट भएको थियो।

“आत्मसमर्पण गरेका माओवादीहरूबाट प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रमा सर्च अपरेसन चलाइरहेको थियो,” सुन्दरराजले भने, “दुर्भाग्यवश आईईडी निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा हामीले तीन बहादुर साथी गुमाउनुपर्‍यो।”

विस्फोटमा ज्यान गुमाउनेमा इन्स्पेक्टर सुखराम वट्टी‚ कन्स्टेबल कृष्णा कोमरा र कन्स्टेबल सन्जय गढपाले छन्।

यो घटनाले भारत सरकारको नक्सलवादविरोधी दाबीमाथि पुनः प्रश्न उठाएको छ। यसै वर्षको मार्चमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले लोकसभामा देशबाट नक्सलवाद लगभग समाप्त भइसकेको बताएका थिए।

उनले ३१ मार्च २०२६ सम्ममा भारतलाई पूर्ण रूपमा ‘नक्सलवाद मुक्त’ बनाउने लक्ष्य हासिल भइसकेको दाबीसमेत गरेका थिए। तर पछिल्लो विस्फोटले बस्तर क्षेत्रमा अझै पनि सुरक्षा चुनौती कायम रहेको देखाएको छ।