काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार बनाउन नदिने बताएका छन्। उनले यस्तो हतियार विश्व सुरक्षाकै लागि ठूलो खतरा भएको कारण अमेरिका इरानविरुद्धको युद्धमा उत्रिन बाध्य भएको बताए।

शुक्रबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा ट्रम्पले भने, ‘यदि हामीले यो कदम नचालेको भए इरानसँग अहिले परमाणु हतियार हुन्थ्यो र त्यसले इजरायल, मध्यपूर्व तथा युरोपलाई विनाशतर्फ धकेल्थ्यो। यस्ता पागल मानिसहरूको हातमा परमाणु हतियार जान या दिन सकिँदैन।’

उनले अमेरिकाले मध्यपूर्वलाई ‘परमाणु खतरा’ बाट जोगाएको दाबी पनि गरे। साथै, युद्ध रोक्न इरानले पठाएको प्रस्ताव आफूले फेरि अस्वीकार गरेको जानकारी दिए। यसअघि पनि इरानले अप्रिल २६ र २७ मा प्रस्ताव पठाएको थियो, जुन ट्रम्पले अस्वीकार गरेका हुन्। ह्वाइट हाउसका एक अधिकारीका अनुसार इरानको नयाँ प्रस्तावमा परमाणु कार्यक्रमबारे कुनै उल्लेख नभएकाले ट्रम्प असन्तुष्ट भएका छन्।

उता इरानले भने ‘स्ट्रेट अफ हर्मुज’ तत्काल खोलिनुपर्ने र परमाणु मुद्दामा पछि वार्ता गर्न सकिने अडान राखेको छ। तर ट्रम्प दुवै विषयमा एकैसाथ सहमति हुनुपर्ने पक्षमा छन्। उनले यसअघि नै वार्तामा आउनुअघि इरानले समृद्ध युरेनियम बुझाउनुपर्ने बताएका थिए।