काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विगतका घटनाबाट अब सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समितिको आवश्यकता र स्थायित्वबारे आगामी कार्यदिशामा केन्द्रित छलफल गर्न आयोजित एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्तामा रहेका शक्तिप्रति सकारात्मक सोच राख्नुपर्ने बताए ।
उनले भने, ‘हिजो नदेखिएको शक्ति आज सत्तामा हुनुहुन्छ, त्यो आजको चाहना हुन सक्छ । त्यसकारण हिजोका मितिका कुराहरू दोहोर्याउँदै बस्ने हो भने नयाँ सोचमा थप्न खोजिएको सकारात्मकता पनि टुंगोमा पुग्न सक्दैन । हिजो जे भयो, त्यहाँबाट निस्केर अगाडि बढ्नुपर्छ ।’
उनले राजनीतिक दलभित्र देखिएका नयाँ अनुहार र सोचलाई समान रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे । सबैलाई एउटै नजरले हेरेर आक्रोश पोख्नु उपयुक्त नभएको उल्लेख गर्दै उनले भने, ‘पार्टी हिजोकै भएपनि इतिहास बदलिन्छ । नयाँ अनुहार र सोचले समयअनुकूल प्रतिस्पर्धामा आफूलाई प्रस्तुत गर्छन् भन्ने विश्वास गर्नुपर्छ ।’
नेता आङ्देम्बेले आशा नै जीवनको प्रमुख आधार भएको उल्लेख गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन्।