काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइँदै। तस्बिर : रास्वपा सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा सक्षम र वैचारिक रूपमा स्पष्ट नेतृत्व उतार्न ‘प्रशिक्षण र परीक्षण’ को नीति अख्तियार गर्ने भएको छ।

पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने जो-कोही सदस्यले पार्टीको आन्तरिक संरचनाअन्तर्गतका दुईवटा महत्त्वपूर्ण खुड्किला पार गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

उम्मेदवारको योग्यता मापन गर्न र उनीहरूलाई स्थानीय सरकार सञ्चालनबारे दक्ष बनाउन रास्वपामा क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी पार गर्नुपर्नेछ। क्यान्डिडेट क्लबमा सम्भावित उम्मेदवारहरूको एउटा साझा मञ्च हुनेछ, जहाँ उम्मेदवार बन्न इच्छुक सदस्यको प्रारम्भिक अभिलेखीकरण र उनीहरूको सार्वजनिक छवि तथा सामाजिक योगदानको मूल्यांकन गरिनेछ।

यस्तै लिडरसिप एकेडेमीमार्फत सदस्यहरूलाई स्थानीय शासन, संविधान, विकास योजना, र पार्टीको नीति तथा मार्गचित्रबारे विशेष प्रशिक्षण दिइनेछ। प्रशिक्षणपश्चात हुने परीक्षा वा मूल्यांकनमा उत्तीर्ण भएपछि मात्र उनीहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधिकारिक ‘टिकट’ का लागि योग्य मानिनेछन्।

यसअघि रास्वपाको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा सभापति रवि लामिछानेलाई उम्मेदवार छनोट रूपरेखा निर्माण समितिका तर्फबाट हस्तान्तरण गरिएको थियो।