जनकपुर। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ।
सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र मधेस प्रदेश प्रमुख कार्यालयमा पुगेको छ। प्रदेश प्रमुखका कार्यालयका सचिव नारायणप्रसाद दाहालले जनमतले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र प्राप्त भएको जानकारी दिए।
प्रदेश सभामा जनमतका १२ सदस्य छन्। जनमत दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी छ। जसअनुसार अर्थमन्त्रीमा महेश यादव र खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाह छन्। प्रमुख सचेतक चन्दन सिंहले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुराको पुष्टि गरेका छन्।
यता पार्टी संसदीय दलका नेता एवं अर्थमन्त्री महेश यादवले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी कुनै पनि निर्णय आफूलाई थाहा नभएको जानकारी दिए। केही सातादेखि जनमतले समर्थन फिर्ता लिने चर्चा चलेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार सञ्चारकर्मीहरूलाई सरकार परिवर्तन नहुने दाबी गरेका थिए। स्रोतका अनुसार नेपाली कांग्रेसबाहेक दलबीच सरकार बनाउने मोटामोटी सहमति भएको छ।