भारत । भारतको पश्चिम बंगाल सहित ५ राज्यको चुनावी नतिजा आज सार्वजानिक हुँदै छ। जसमा असम, तमिलनाडु, केरल र पुडुचेरीमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना बिहान ८:१५ बाट सुरु हुन लागेको हो।
यी पाँच राज्यको चुनावलाई भारतीय राजनीतिका लागि निकै महत्वपूर्ण मानिएको छ। विशेषगरी पश्चिम बंगालमा सत्तारुढ ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टिएमसी) र भारतीय जनता पार्टी (बीजेपी) बीचको कडा प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ।
ममता विगत १५ वर्षदेखि पश्चिम बंगालको सत्तामा रहेकी छिन्। उनी चौंथो पटक सत्तामा फर्किने विश्वासमा रहँदा पहिलो पटक भाजपा पश्चिम बंगालमा सरकार बनाउने प्रयासमा रहेको छ।
पश्चिम बंगालमा २९४ मध्ये २९३ सिटको मतगणना आज हुनेछ भने फाल्टा क्षेत्रमा मे २१ मा पुनः मतदान भएपछि मात्र त्यो सिटको मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ। बिहान ८ बजेदेखि सुरु हुने मतगणनामा सुरुमा हुलाकमार्फत आएका मतपत्र गणना गरिने छ र त्यसपछि ईभीएम खोलिने जनाइएको छ।
यस पटकको निर्वाचनमा पश्चिम बंगालमा टिएमसी र बिजेपी दुवैले बहुमत ल्याउने दाबी गरेका छन्। विभिन्न एग्जिट पोलहरूले भने बीजेपीलाइ केही अगाडी देखाएको छ। यद्यपि ममता बनर्जीले ती सर्वेक्षणलाई अस्वीकार गर्दै आफ्नो दलले २०० भन्दा बढी सिट जित्ने दाबी गरेकी छिन्।
त्यस्तै असममा विजेपी गठबन्धन पुनः सत्ता जोगाउने प्रयासमा छ भने तमिलनाडुमा द्रविड राजनीति फेरि केन्द्रमा रहेको छ। केरलमा वामपन्थी मोर्चा र कांग्रेस नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा चर्किएको छ। पुडुचेरीमा पनि गठबन्धन राजनीतिले चुनावी परिणामलाई रोचक बनाएको विश्लेषकहरूले बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार आज आउने नतिजाले आगामी राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने सम्भावना रहेको छ। विशेषगरी पश्चिम बंगालको परिणामलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विजेपीका लागि प्रतिष्ठाका रुपमा हेरिएको छ।