काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । भारतले कैलाश मानसरोवर यात्राको मार्गसँग जोडिएको लिपुलेक क्षेत्रबारे नेपालले उठाएको सीमा सम्बन्धी दाबी अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालय का प्रवक्ता रणधीर जैसवाल ले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राको परम्परागत मार्ग रहँदै आएको बताएका छन्।

उनका अनुसार सो मार्गबाट दशकौँदेखि यात्रा सञ्चालन हुँदै आएको छ र यो कुनै नयाँ विकास नभएको स्पष्ट पारे। जैसवालले नेपालको भू–भाग सम्बन्धी दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गर्दै एकतर्फी दाबी अस्वीकार्य हुने बताए।

यद्यपि भारतले नेपालसँग रहेका सबै द्विपक्षीय विषयहरू संवादमार्फत समाधान गर्न तयार रहेको जनाएको छ। बाँकी सीमासम्बन्धी विवादहरू कूटनीतिक माध्यमबाट टुंग्याउन भारत खुला रहेको पनि मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले भने लिपुलेक हुँदै आयोजना गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो स्पष्ट अडान राख्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो। त्यसको लगत्तै भारतको यो प्रतिक्रिया सार्वजनिक भएको हो, जसले सीमा विवादलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ।