काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

महिलाको आर्थिक सशक्तीकरणमा जोड

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

विराटनगर। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिलाको आर्थिक सशक्तीकरण र नेतृत्व विकासलाई दिगो आर्थिक प्रगतिको आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनमा उनले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सक्षम बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे। उनका अनुसार सम्मेलन केवल औपचारिक कार्यक्रम नभई महिलाको नेतृत्व विकास र नीतिगत सुधारका लागि अभियानका रूपमा सञ्चालन गरिएको हो।

उनले नेपाल उद्योग परिसंघले देशभर औद्योगिक वातावरण निर्माण, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। परिसंघले विभिन्न समिति र मञ्चमार्फत सरकारलाई अनुसन्धानमा आधारित नीतिगत सुझाव दिँदै आएको पनि उनले बताए।

अध्यक्ष पाण्डेका अनुसार महिला नेतृत्व सम्मेलनबाट प्राप्त सुझावहरूले तीनै तहका सरकारलाई महिलामैत्री नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ। सम्मेलनमा विभिन्न क्षेत्रका सफल तथा प्रभावशाली व्यक्तित्वको अनुभव आदान-प्रदानले महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको उनले बताए।

उनले महिलाको आर्थिक पहुँच विस्तार गर्न वित्तीय साधनमा पहुँच बढाउनुपर्ने आवश्यकता औँल्याए। महिला उद्यमीका लागि कर्जा पहुँच सहज बनाउनुका साथै लघु, घरेलु तथा साना-मझौला उद्यमलाई लक्षित नीतिमा सुधार गर्नुपर्ने उनले बताए।

सरकारले महिलाको सशक्तीकरणका लागि आयकरमा छुट, जग्गा दर्तामा सहुलियत र महिला उद्यमशीलता कर्जाजस्ता व्यवस्था गरेको भए पनि ती नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष पाण्डेले राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता न्यूनतम सीमा मात्र भएको उल्लेख गर्दै त्यसलाई थप विस्तार गर्नुपर्ने बताए। महिलालाई नीति निर्माण तहमा पर्याप्त प्रतिनिधित्व गराउनु आवश्यक रहेको उनको भनाइ छ।