काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरेको भनी केही सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गरेको छ । सचिवालयले प्रेस नोट जारी गर्दै उक्त घटनाको वास्तविक वस्तुस्थिति स्पष्ट पारेको हो ।
सचिवालयका अनुसार मंगलबार वैशाख २१ गते प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि प्रधानमन्त्री शाहले सुरक्षा र व्यवस्थापनबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राखेका थिए । उक्त चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित रहेको र सञ्चारकर्मीलाई कार्यक्षेत्रबाट हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिइएको स्पष्ट पारिएको छ ।
‘प्रधानमन्त्रीज्यू कार्यकक्षमा प्रवेश गरिसकेपछि सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो प्राप्त हुनासाथ सचिवालयले समन्वय गरी वस्तुस्थिति सहज बनाएको थियो,’ प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीहरूलाई उपलब्ध गराइएको पहुँचमा कुनै पनि प्रकारको कटौती वा निषेध गरिएको छैन ।’
सचिवालयले सूचना संकलन र रिपोर्टिङका लागि अनुमति दिइएका स्थानमा कुनै पनि किसिमको अवरोध नभएको र भविष्यमा पनि नहुने प्रतिबद्धता जनाएको छ । सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’ का रूपमा अतिरञ्जित नगर्न समेत सचिवालयले सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।