हुम्ला । हुम्लाका दुई वटा गाउँपालिकाका दुई वटा वडाका स्थानीयले नागरिकताको सिफारिस लिन छ देखि बाह्र घण्टासम्म हिड्नुपर्ने बाध्यता रहेको छ। वडा केन्द्र एक स्थानमा र सोही वडाका अन्य वस्ती अर्को स्थानमा रहेको कारण स्थानीयले सरकारी कागजात लिन यस्तो दुःख ब्यहोर्नु परेको हो।
ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँका स्थानीय परिमल बुढाले वडाबाट लिनुपर्ने आवश्यक सिफारिस लिन बाह्र घण्टासम्म हिडेर जानु पर्ने बाध्यता रहेको बताए। वडा कार्यालय एउटा बस्तीमा रहेको र आफ्नो गाउँ धेरै टाढा रहेको कारण यो दुःख स्थानीयले बेहोर्नु परि रहेको गुनासो उनको छ।
सो वस्तीमा बाईस घरधुरी रहेका छन्। उक्त गाउँका जो कोही स्थानीयले नेपाली नागरिकताको सिफारिस, प्रतिलिपिको सिफारिस, राष्ट्रिय परिचयपत्रको सिफारिस र अन्य आवश्यक पर्ने सिफारिस लिन यसरी प्रत्येक स्थानीयले नौदेखि बाह्र घण्टासम्म हिड्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ। मासपुरका स्थानीयलाई यी सिफारिस लिनका लागि तीन दिन समय लाग्ने गरेको छ।
यता जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँका स्थानीय प्रकाश मल्लले आफ्नो गाउँका स्थानीयले पनि छ घण्टा पैदल त्यो पनि उकालो हिँडेर वडाको सिफारिस लिनुपरि रहेको बताए। उनको वडाको केन्द्र जैर गाउँमा छ। तुम्चबाट वडा कार्यालय रहेको जैर गाउँमा पुग्न ६ घण्टा उकालो हिँडेर जानु पर्ने बाध्यता रहेको उनले बताए।
संङ्घीयतामा गाउँगाउँमा सरकार आएको भनिए पनि आफुहरुले त्यो महशुस गर्न नपाएको गुनासो मल्लको छ। यसलाई कसरी घरघरमा सेवा पाउने ब्यवस्थाका लागि उनले गाउँपालिका र वडालाई आग्रह गरे। वडा अध्यक्षले महिनाको दुई पटक गाउँमा आवश्यक कागजात बोकेर आउनु उनले आग्रह गरे।