सेवा-प्रवाह
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
काठमाडौँ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा विस्तारका क्रममा प्रगति भएको देखिएको छ। हुलाक सेवा विभागका अनुसार हालसम्म १९ जिल्लाबाट यो सेवा सञ्चालनमा आइसकेको छ।
गत १३ चैतमा सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो।
योजना कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सम्बन्धित निकायसँग यसको कार्यप्रगति र देखिएका समस्याका सन्दर्भमा निरन्तर समन्वय तथा छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ। सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र मातहतका निकाय पनि सक्रियतापूर्वक जुटेका छन्।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार कार्यक्रम सुरु भएपछि हालसम्म तीन हजार १३१ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। तीमध्ये ६६७ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। यसले नागरिकलाई राहदानी प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई घटाउँदै सेवा-प्रवाह सहज बनाइएको छ।
विभागका अनुसार काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडीलगायत १९ जिल्लासँग यस्तो सेवाका लागि सम्झौता भइसकेको छ। अन्य जिल्लामा पनि विस्तारको प्रक्रिया अगाडि बढाइएको छ। अहिले सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानीका लागि आवेदन दिँदा नै सेवाग्राहीको ठेगाना संकलन सुरु गरिसकेको महानिर्देशक पँगेनीले बताइन्। यसले भविष्यमा वितरणलाई अझ व्यवस्थित बनाउने उनको भनाइ छ।
राहदानीसँगै अन्य सरकारी सेवा पनि हुलाकमार्फत घरदैलोमा पुर्याउने काम तीव्र पारिएको छ। हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेको छ भने स्वास्थ्य क्षेत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १४ वटा प्रयोगशाला नमुना ढुवानी गरिएको छ। सुर्खेत, बाँके, काठमाडौँलगायत जिल्लाबाट प्रयोगशाला नमुना ढुवानी थालिएको हो।
यातायात सेवामा पनि हुलाक प्रणालीको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। विभागका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म दुई लाख ९६ हजार ५४५ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको छ। मोरङ, कास्कीलगायत जिल्लाबाट यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्याउने सेवा पनि सुरु गरिएको छ।
हुलाक सेवा विभागले सेवा विस्तारसँगै संस्थागत सुधारका कामहरू पनि अघि बढाएको जनाएको छ। नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्याउने सेवा चाँडै सुरु गर्ने तयारी गरिएको छ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र‚ उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ। शैक्षिक प्रमाणपत्र ढुवानीका लागि नेपाल खुला विश्वविद्यालयसँग छलफल अघि बढेको छ।
प्रणालीगत सुधारतर्फ राहदानी विभागसँग प्रणाली अन्तरआबद्धता गर्न अध्ययन समिति गठन गरिएको छ। महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ। साथै प्रदेशस्तरका निर्देशनालय र जिल्ला कार्यालयहरूसँग सहकार्य गरी डाँक रेखा पुनरावलोकन तथा पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढाइएको विभागले जनाएको छ।