काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। रक्षा मन्त्रालयको चालु आवको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ। मन्त्रालयको त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको मंगलबार बसेको बैठकमा यसबारे जानकारी दिइएको हो।

मन्त्रालयअन्तर्गत कोसी कोरिडोर (च्याम्ताङ-घोङ्घप्पा) सडक आयोजना, कर्णाली सडक आयोजना र बेनिघाट-आरुघाट-लार्केभञ्जाङ सडक आयोजनाको यस अवधिमा १०० प्रतिशत भौतिक प्रगति भएको देखिएको छ। त्यस्तै महाकाली कोरिडोर (तुषारपानी-टिंकर) सडक आयोजनाको प्रगति ८२.९९ प्रतिशत र राष्ट्रिय चुरे संरक्षण कार्यक्रमको प्रगति ८० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्रालयअन्तर्गत काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको ३४.४ प्रतिशत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको ३५.७३ प्रतिशत र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति २३.५० प्रतिशत प्रगति छ।

प्रधानसेनापति अशोकराज सिग्देलले कोरिडोर निर्माणमा ‘ट्र्याक’ खोल्न आवश्यक बजेटको कमीले क्षमताअनुसार काम गर्न नसकिएको बताए। साथै उनले आफूहरूको ध्यान द्रूतमार्ग आयोजना सम्पन्न गर्न बढी केन्द्रित रहेको उल्लेख गर्दै आयोजनामा देखिएका चुनौती समाधानका लागि वर्तमान परिस्थितिमा थप सहज हुने अपेक्षा गरे।

कार्यक्रममा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालयको प्रगति राष्ट्रिय तुलनामा सन्तोषजक भए पनि आयोजनामा देखिएका अन्य अवरोध तथा चुनौती रक्षा मन्त्रालय एक्लैले समाधान गर्न गाह्रो हुने हुँदा मन्त्रालयगत समन्वय र सहयोगको खाँचो औँल्याए।

प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्माले विश्वविद्यालय सञ्चालनका लागि तत्काल विधेयक अघि बढाउन र आवश्यक पहुँच मार्गको स्तरोन्नतिका लागि आग्रह गरे। मन्त्रालयका सहसचिव कृष्ण पौडेलले प्रगति समीक्षासम्बन्धी प्रस्तुतीकरण गरेको कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिले आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।