काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको रोमान्चक खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।

सोमबार भएको खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो। लखनउले दिएको २२९ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

मुम्बईको जितमा ओपनरद्वय रोहित शर्मा र रयान रिकेल्टनले पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरे। रोहित शर्माले व्याक्तिगत सर्वाधिक ८४ रनको पारी खेले। उनले ४४ बलमा ६ चौका र सात छक्का प्रहार गरे। अर्का ओपनर रयानले ३२ बलमा ६ चौका र ८ छक्का सहित ८३ रनको पारी खेले।

हार्दिक पाण्ड्या बाहिर हुँदा मुम्बईको कप्तानी सुर्यकुमार यादवले गरेका थिए। कप्तान यादवले १२ रन बनाए। तिलक बर्माले ११ रन बनाउँदा नमन धिर २३ र विल ज्याक्स १० रनमा अविजित रहे।

लखनउको लागि बलिङतर्फ मनिमरण सिद्धार्थले २ विकेट लिए। मोहम्मद सामी र मोसिन खानले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो।

निकोलस पूरनले सर्वाधिक ६३ रन बनाए। २१ बल खेलेका उनले १ चौका र ८ छक्का प्रहार गरे । पूरनले १६ बलमा अर्धशतक पूरा गरेका थिए। मिचेल मार्शले ४४ तथा एइडेन मार्क्रमले अविजित ३१ रन बनाए।

मुम्बईका कर्बिन बोशले २ विकेट लिँदा रघु शर्मा र विल ज्याक्सले १-१ विकेट लिए।

यो जितसँगै १० खेलमा ६ अंक जोडेको मुम्बई नवौं स्थानमा यथावत् छ भने ९ खेलमा ४ अंक भएको लखनउ १०औं स्थानमा छ।