काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ बैशाख २०८३
प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : प्रधानमन्त्री सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक प्रभावबाट मुक्त गर्न सरकारले कडा निर्णय लिएको बताएका छन्।

उनले वर्षौंदेखि जरा गाडेको ‘पार्टीकरण’ संस्कृतिले राज्य प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै अबदेखि योग्यता र क्षमतामै आधारित प्रणाली लागू गरिने स्पष्ट पारे।

मंगलबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विद्यार्थी तथा कर्मचारी संगठनहरू दलको स्वार्थ पूरा गर्ने ‘स्लिपर सेल’ जस्तो बनेको टिप्पणी गरे। विगतमा पहुँच, झोला र झण्डाको आधारमा अवसर बाँडिएको कारण जनविश्वास घटेको उनले बताए। त्यसैलाई अन्त्य गर्न शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत संलग्नता निषेध गरिएको उनले उल्लेख गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गर्न नसकेर यस्तो निर्णय गरेको भन्ने आरोप अस्वीकार गर्दै थप दलगत संगठनले शिक्षाको गुणस्तर नबढ्ने निष्कर्षका आधारमा यो कदम चालिएको स्पष्ट पारे। हालै सरकारले अध्यादेशमार्फत यस्ता विकृति हटाउने निर्णय गरेको जानकारी दिँदै उनले यसले पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गरे।

प्रधानमन्त्री शाहका अनुसार विद्यार्थीहरूले जिम्मेवार र सभ्य राजनीतिक संस्कार गुरुबाट सिक्नुपर्ने हो, नेताको भीडबाट होइन। कर्मचारीहरूले पनि नेताको प्रभावभन्दा विधि र प्रणालीअनुसार काम गर्नुपर्ने उनले जोड दिए।

यो कदम कुनै एक दलविरुद्ध नभई समग्र प्रणाली सुधारका लागि भएको बताउँदै उनले नियुक्ति, सरुवा र बढुवामा अब दलगत निकटता होइन, क्षमता र दक्षतालाई मात्र प्राथमिकता दिइने बताए। साथै, उनले यस अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।