महेन्द्रनगर। सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको जनाएको छ।
आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनी पति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए।
सशस्त्र प्रहरी बल, नेपालको नियमित परिचालनका अलावा विपद् उद्धारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेसहरु स्थापना गरिएको निमित्त बाहिनी पति सुवेदीको भनाइ छ।
कैलालीको धनगढी उपमहानगर पालिका र चुरे गाउँपालिका–५, खानी डाँडा गरी दुई स्थान, कञ्चनपुरको बेलौरी, डोटीको जोरायल गाँउपालिका–२ बुडर, अछामको साफेबगर नगरपालिका–१३ बुढाबगर, टासी, बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाच र बैतडीको सदरमुकाम गरी कुल आठ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरेको मुख्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा ११ गोताखोर र २७५ विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई विपद् उद्धारको काममा प्रभावकारी परिचालनका लागि समानुपातिक रूपमा सबै जिल्लामा तैनाथ गरिएको निमित्त बाहिनी पति सुवेदीले बताए।
हालै मात्र भएका पानीजन्य विपद् उद्धारका लागि बाहिनीले दार्चुला, बझाङ, अछाम, डोटी र कञ्चनपुर जिल्लामा गोताखोर परिचालन गरी शव फेला पारेको थियो।
सशस्त्र प्रहरी बल, नेपालले स्थानीय तहसँगको समन्वयमा समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गर्दै आइरहेको छ। प्रत्येक वडा तहसम्म सशस्त्र प्रहरी बलले विपद् सूचना प्राप्तिमा सहज होस् भन्ने हेतुले विपद् सूचक समूह स्थापना गरेको जनाएको छ। विपद्सम्बन्धी उद्धारका लागि सर्वसाधारणका लागि टोल फ्री नं ११४ प्रयोगमा ल्याइएको छ।