वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ‘पूर्ण र अन्तिम सम्झौता’ मा ठूलो प्रगति भएको दाबी गर्दै ‘स्ट्रेट अफ हर्मुज’बाट व्यावसायिक जहाजहरूलाई सुरक्षा दिने अमेरिकी सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
पाकिस्तान लगायत अन्य देशहरूको अनुरोध र वार्तामा भएको सकारात्मक प्रगतिका कारण यो निर्णय लिइएको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बताएका छन्।
यद्यपि, इरान विरुद्धको अमेरिकी नाकाबन्दी भने पूर्ण रूपमा कायमै रहने उनले स्पष्ट पारेका छन्। आइतबार मात्रै घोषणा गरिएको यो अभियान सोमबारदेखि लागू भएको थियो, तर लगत्तै अमेरिकी र इरानी सेनाबीच झडप भएपछि युद्धविरामको भविष्यमाथि प्रश्न उठेको थियो।
विदेश मन्त्री मार्को रुबियोले यो कदम जलमार्ग पूर्ण रूपमा खुला गर्ने पहिलो प्रयास भएको बताएका छन् भने रक्षा मन्त्री पिट हेगसेथले यो अभियान केवल व्यावसायिक जहाजको रक्षाका लागि भएको र यो अस्थायी रहने जानकारी दिएका छन्।
इरानसँगको सम्झौतामा हस्ताक्षर हुने अपेक्षाका साथ यो सैन्य अभियानलाई केही समयका लागि थाती राखिएको हो।