काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संरचनालाई पूर्णता दिने क्रममा ३९ नयाँ सदस्यहरू थप गरिएका छन्।
पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी उनीहरूलाई नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, उपसभापति शर्माले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) ले दिएको अधिकार प्रयोग गर्दै यो नियुक्ति गरेका हुन्।
प्रतिष्ठानलाई थप प्रभावकारी र समावेशी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा नेताहरूलाई जिम्मेवारी दिइएको छ।
नवनियुक्त सदस्यहरूमा काभ्रेपलाञ्चोकका मधु आचार्य, बर्दियाका डा. गोपाल दहित थारु, रौतहटकी अञ्जु झा, ललितपुरका उमेश श्रेष्ठ र प्युठानका प्रा.डा. गोविन्दराज पोखरेल रहेका छन्।
त्यस्तै, मुगुका चलचित्र निर्देशक मीन भाम, महोत्तरीका डा. अञ्जनीकुमार झा, प्रवासबाट डा. यादव पण्डित, बर्दियाका बद्री सिग्देल, सुनसरीका गोपालप्रसाद पोखरेल र भोजपुरका कवि श्रवण मुकारुङसहित ३९ जनाले प्रतिष्ठानमा स्थान पाएका छन्।