नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका १२, बेलासपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
बुधबार पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका १ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही ठाउँका २० वर्षीय बीबीएस कुँवर, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना ६ का १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
तीमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगन्जबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट प्रहरीले एक थान चक्कु, सुपप्र ०१-०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल, सिसाका बोतल बरामद गरेको छ।
पातलीका अनुसार नेपालगन्ज १२ स्थित प्रितम अधिकारीको घरमा ब्रतवन्धको कार्यक्रम रहेको, घरमा बस्ने ठाउँ नभएकाले छिमेकीको घरमा गएको र रमाइलो गर्ने क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द्र ठकुरीबीचको विवादले उग्ररुप लिएपछि बाँकेको खजुरा गाउँपालिका ६ का २२ वर्षीय विशालको हत्या भएको थियो।
पातलीका अनुसार चक्कुलगायत धारिलो हतियार उनीमाथि प्रहार भएको थियो। उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।