काठमाडौँ। पूर्वराजदूत यज्ञबहादुर हमालद्वारा लिखित नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे अध्ययनमूलक पुस्तक ‘नेपाल्स फरेन पोलिसी एन्ड फरेन रिलेसन्स’ सार्वजनिक भएको छ।
पुस्तकमा नेपालको परराष्ट्र नीति र कूटनीतिक अभ्यासलाई ऐतिहासिकदेखि समसामयिक आयामसम्म समग्र रूपमा विश्लेषण गरिएको छ।
पुस्तकमा नेपालको परराष्ट्र सम्बन्धको प्रारम्भ प्राचीन तथा मध्यकालीन युगदेखि आधुनिक कालसम्म समेटिएको छ। राणा शासनकालको एकांकी नीति र सीमित समायोजन, त्यसपछिको प्रजातन्त्र उदयसँगै विश्वसँगको सम्बन्ध विस्तार, पञ्चायतकालको राष्ट्रवादी दृष्टिकोण तथा प्रजातन्त्र पुनःस्थापनापछि विकसित बहुलवादी स्वरूपलाई क्रमिक रूपमा व्याख्या गरिएको छ।
यसका साथै देशगत सम्बन्ध, राष्ट्रिय हित, असंलग्नता र तटस्थता, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार, विकासका लागि बाह्य वित्त, क्षेत्रीय सहकार्य प्रवर्द्धनलगायत विषय समेटिएका छन्। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिका, विश्वव्यापी समस्याहरू तथा तिनका समाधानका लागि राष्ट्रिय पहलसम्बन्धी पक्षहरू पनि पुस्तकमा समावेश गरिएका छन्।
ऐतिहासिक स्रोत, कूटनीतिक अभ्यास र शैक्षिक दृष्टिकोणको संयोजनमार्फत पुस्तकले नेपालको बाह्य सम्बन्धको स्वतन्त्र, सन्तुलित र निष्पक्ष विश्लेषण प्रस्तुत गरेको छ। परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न पक्षहरूको सफलता वा असफलता उनीहरूमै निहित रहने उल्लेख गर्दै लेखकका व्यक्तिगत अनुभव र विचारहरू पनि पुस्तकमा समेटिएका छन्।
नेपाली इतिहासकार, विदेशी लेखक, संस्थागत प्रकाशन, अनुसन्धान अध्ययन तथा अनलाइन स्रोतहरूको आधारमा तयार गरिएको पुस्तकमा वर्तमान तथा भविष्यका लागि उपयोगी नीति विकल्पहरू पनि प्रस्तुत गरिएको छ। व्यापक विषयवस्तु र विश्लेषणात्मक गहिराइका कारण यो पुस्तक परराष्ट्र सम्बन्ध र कूटनीतिमा रुचि राख्ने पाठक तथा अध्येताका लागि उपयोगी र सङ्ग्रहणीय कृतिका रूपमा रहने अपेक्षा गरिएको छ।
ओम सिद्धार्थ पब्लिकेशनलद्वारा प्रकाशित ५५४ पृष्ठको पुस्तकको मूल्य एक हजार २५० रुपैयाँ तोकिएको छ।