काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ बैशाख २०८३
विश्वप्रकाश शर्मा।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठक बसेको छ।

सभापति गगनकुमार थापाको विशेष उपस्थिति र प्रतिष्ठानका प्रमुख एवं उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बैठक बसेको हो।

बैठकको प्रारम्भमा सभापति थापाले प्रतिष्ठानका प्रमुख शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए। लगत्तै प्रमुख शर्माले प्रतिष्ठानका नवनियुक्त सदस्यलाई शपथ गराए।

त्यस अवसरमा थापाले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे स्पष्ट पारेका थिए। उनले पार्टीलाई वैचारिक रूपमा सबल बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए।

बैठकले प्रतिष्ठानको रिक्त उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ। प्रतिष्ठान प्रमुख शर्माले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो।

सातै प्रदेशमा प्रशिक्षण अभियान
प्रतिष्ठानले आगामी वैशाख र जेठमा सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गरेको छ। बैठकमा प्रमुख शर्माले सार्वजनिक गरेको कार्यतालिका अनुसार सुदूरपश्चिमको धनगढीमा २६ र २७ वैशाख‚ कर्णालीको सुर्खेतमा २८ र २९ वैशाख‚ गण्डकीको पोखरामा ३१ वैशाख र १ जेठ‚ बागमतीको काभ्रेमा ४ र ५ जेठ‚ मधेसको महोत्तरीमा ६ र ७ जेठ‚ कोसीको सुनसरीमा ८ र ९ जेठ र लुम्बिनी प्रदेशको रुपन्देहीमा १४ र १५ जेठमा भेला हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

उनका अनुसार यो अभियानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा नेताहरूलाई नीतिगत र प्राविधिक रूपमा प्रशिक्षित गर्ने लक्ष्य राखेको छ।