न्यूयोर्क। इरानसँगको युद्ध तीव्र बन्दै जाँदा विश्व ऊर्जा बजारमा अस्थिरता चुलिएको छ, जसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको मूल्यमा देखिएको छ। विशेषगरी अमेरिकामा पेट्रोलको मूल्य असामान्य रूपमा बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार पेट्रोलको मूल्य करिब ५० प्रतिशतले उकालो लागेको छ भने एक सातामै प्रति ग्यालोन ३१ सेन्टले वृद्धि भएर औसत ४.४८ डलर पुगेको छ।
मूल्यवृद्धिले दैनिक उपभोग र यातायात खर्चमा व्यापक दबाब सिर्जना गरेको छ। ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार कच्चा तेलको आपूर्ति र वितरण प्रणालीमा आएको अवरोध नै यस संकटको मुख्य कारण हो। फारस खाडीस्थित रणनीतिक महत्वको हर्मुज जलडमरूमा बढ्दो तनावका कारण तेल ट्यांकरहरूको आवागमन प्रभावित हुँदा विश्व आपूर्ति श्रृंखला नै कमजोर बनेको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल यही समुद्री मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यहाँको अवरोधले विश्वव्यापी प्रभाव पारेको छ। केही साताअघि अप्रिलमा युद्ध मत्थर हुने संकेतसँगै बजारमा आशा जागेको थियो र मूल्यमा केही गिरावट पनि देखिएको थियो। तर द्वन्द्व पुनः चर्किएपछि कच्चा तेलको मूल्य फेरि उकालो लाग्न थालेको छ, जसको असर सिधै पेट्रोल पम्पसम्म पुगेको हो।
विश्लेषकहरूले यो अवस्था लम्बिँदै गएमा विश्वव्यापी मुद्रास्फीति थप चर्किने, ढुवानी लागत बढ्ने र आर्थिक गतिविधिमा सुस्ती आउने चेतावनी दिएका छन्। इन्धन महँगिँदा उपभोक्ताले अन्य वस्तु तथा सेवामा समेत मूल्यवृद्धिको मार खेप्नुपर्ने सम्भावना रहेको छ।