काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ बैशाख २०८३
तस्बिर : राष्ट्रपति पौडेलको सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताएका छन्। विभिन्न समयमा भएका जनआन्दोलन तथा संघर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने उनले विश्वास व्यक्त गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गरे।

“हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो। संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय तथा स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो‚” उनले भने‚ “सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने मैले विश्वास लिएको छु।”

पौडेलले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त  रहेको र स्वतन्त्र र निष्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे।

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए। उनले श्रमजीवी पत्रकारको हकहित र सञ्चारगृहको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको बताए।

सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन तथा मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चारमाध्यमसामु चुनौती थपिएको बताए। उनले यो चुनौती सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको बताए।

राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारिता सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारले दशकौँदेखि कलमका माध्यमबाट समाजलाई देखाएको बाटो तथा पुर्‍याएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताए। उनले पुरस्कृत पत्रकारहरूलाई बधाई पनि दिए।

कार्यक्रममा राष्ट्रपति पौडेलले ‘वरिष्ठ पत्रकार’ सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गरे। भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराजलाई ‘राष्ट्रिय पत्रकारिता’ पुरस्कार प्रदान गरे।