काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ बैशाख २०८३
अ+
अ-

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकाले प्रांगारिक कृषि तथा पोषण मेलाको आयोजना गर्न लागेको छ। १ जेठमा नगरपालिकाले भेरीगंगा १२ छिन्चुस्थित एक विद्यालयको प्रांगणमा प्रांगारिक कृषि तथा पोषण मेला आयोजना गर्न लागेको हो।

कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने प्रदेश सरकारको संकल्पलाई मूर्तरुप दिन र स्थानीय स्तरमा उत्पादित पौष्टिक खाद्यवस्तुको बजारीकरणका लागि यो मेला सहयोगी बन्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा उत्पादित प्रांगारिक उपजलाई बजार र उपभोक्तासँग प्रत्यक्ष जोड्ने, कृषकहरुको पौरखलाई मूल्यसँगै पहिचान दिन र नगरपालिकालाई एक सफल कृषि उद्यमी नगरको रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुरज बिसीले जानकारी दिए।

‘भेरीगंगाको सान : प्रांगारिक कृषि र उद्यमी किसान’ भन्ने मुल नाराका साथ प्रांगारिक कृषि तथा पोषण मेलाको आयोजना गर्न लागिएको हो। शाखा प्रमुख विसीका अनुसार उक्त मेलामा कृषि उपज प्रदर्शनी स्टल राखिनेछ। उक्त प्रदर्शनीमा नगरपालिका भित्रका सबै वडाका किसानहरुले उत्पादन गरेका उत्कृष्ट प्रांगारिक तरकारी, फलफूल र अन्नबाली प्रदर्शन गरिनेछ।

लोप हुन लागेका स्थानीय बिउबिजन लहे, कागुनो, कोदो, फापर र त्यसबाट बन्ने परिकारहरुको प्रदर्शनी पनि गरिनेछ। थोपा सिँचाइ, टनेल खेती, सुधारिएको गोठ, आधुनिक कृषि औजार लगायतका कृषि प्रविधि पनि प्रर्दशनीमा राखिने उनले जानकारी दिए।

व्यावसायिक मौरीपालन र च्याउ खेतीका विभिन्न प्रजातिहरुका लागि विशेष स्टलको पनि व्यवस्था गरिएको छ। कृषि उपजको गुणस्तर, विविधता र प्रस्तुतीकरणको आधारमा सहभागी कृषकहरुबीच स्टल छनोटका लागि प्रतियोगिता गराईने बिसीले बताए।

स्थानीय रैथाने बालीलाई प्रयोग गरेर बनाइने स्वास्थ्यवर्द्धक र पोषणमुक्त परिकार बनाउन कृषकहरुबीच प्रतिस्पर्धा पनि गराईनेछ। युवा कृषकहरुबीच कृषि, पोषण र वातावरणका विषयमा हाजिरीजवाफ प्रतियोगिता पनि उक्त मेलामा सञ्चालन गरिनेछ।

कृषि वैज्ञानिक वा विज्ञहरुसँग किसानहरुले आफ्ना समस्याका विषयमा प्रत्यक्ष छलफल गर्न पाउनेगरि संवाद सत्रहरु पनि सञ्चालन गरिने बिसीले जानकारी दिए। उक्त मेलामार्फत व्यवसायी वा होटल व्यवसायीहरुबीच सम्झौता, सञ्जाल विस्तार, कृषिमा युवाको आकर्षण र विषादीको प्रयोगका विषयमा जनचेतनामुलक नाटक, गीत प्रस्तुति, गर्भवति महिलाका लागि सन्तुलित भोजनको महत्व बुझाउने श्रव्य दृश्य सामग्री प्रदर्शन पनि गरिने नगरपालिकाले जनाएको छ।