स्पेन। स्पेनकी स्वास्थ्यमन्त्री मोनिका गार्सिया गोमेजका अनुसार हान्टाभाइरस सङ्क्रमण देखिएको एक क्रुज जहाज आगामी तीन दिनभित्र टेनेरिफे टापुको ग्रानाडिल्ला बन्दरगाहमा ल्याइने भएको छ।
क्यानरी टापु क्षेत्रीय सरकारको विरोधका बाबजुद पनि उक्त निर्णय लिइएको बताइएको छ। मन्त्री गोमेजले म्याड्रिडमा आयोजित पत्रकार सम्मेलनमा यात्रुहरूको स्वास्थ्य परीक्षण तथा उद्धारका लागि संयुक्त प्रणाली लागू गरिने जानकारी दिइन्। स्वास्थ्य अवस्थाले अनुमति दिएसम्म सबै यात्रुहरूलाई आफ्ना देश फर्काइने व्यवस्था गरिने पनि उनले स्पष्ट पारिन्।
उक्त जहाजमा रहेका १४ जना स्पेनी नागरिक, जसमा एक जना चालक दलका सदस्य पनि छन्। उनीहरूलाई म्याड्रिडस्थित गोमेज उल्ला सैनिक अस्पतालमा सारिनेछ। सरकारले भाइरस फैलिन नदिन अन्तर्राष्ट्रिय अवस्थाको निरन्तर निगरानी गरिरहेको मन्त्रीले बताइन्।
यसअघि क्यानरी टापु सरकारका प्रमुख फर्नान्डो क्लाभिजोले केन्द्र सरकारबाट पर्याप्त जानकारी नपाएको भन्दै बिरामीहरूलाई टापुमा ल्याउने योजनाको विरोध गरेका थिए। तर मन्त्री गोमेजले उनीसँग निरन्तर सम्पर्कमा रहेको र सबै छलफलमा सहभागी गराइने बताइन्।
यसबिच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेहेब्रेयेससले तीन जना शङ्कास्पद सङ्क्रमितलाई जहाजबाट उद्धार गरी उपचारका लागि नेदरल्याण्ड्स पठाइएको जानकारी दिएका छन ।
उक्त जहाजमा तीन जना यात्रुको मृत्यु भएपछि हान्टाभाइरसको आशङ्कामा अन्तर्राष्ट्रिय सतर्कता जारी गरिएको थियो। अर्जेन्टिनाबाट अप्रिल १ मा यात्रा सुरु गरेको यो जहाज एटलान्टिक महासागर हुँदै यात्रा गरिरहेको थियो र हाल केप भर्डे नजिक रोकिने अवस्थामा रहेको छ।
जहाजमा ८८ जना यात्रु र ५९ जना चालक दलका सदस्य गरी २३ विभिन्न देशका व्यक्तिहरू सवार रहेका छन्।