काठमाडाैँ। अन्तर्राष्ट्रिय आपतकालीन मानवीय चिकित्सा सेवा (एमएसएफ) ले इजरायलले गाजामा खानालगाएतका अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान संकट निम्त्याएको बताएको छ।
जसको कारण शिशु तथा गर्भवती र स्तनपान गराउने महिलाहरूमा नकरात्मक प्रभाव पारी जटिल कुपोषण संकट सिर्जना गरेको जनाइएको छ।
गाजामा संयुक्त राष्ट्रसङ्घको सहायताको वितरणलाई अवरोध गर्ने अमेरिका र इजरायल समर्थित निजी सङ्गठनले गत वर्ष गरेको हानि नोक्सानीको वारेमा पनि एमएसएफले प्रतिवेदनमा उल्लेख गरेको छ।
एमएसएफको नामले चिनिने आपतकानिल मानविय चिकित्सा सेवाले गाजा पट्टीमा चार स्वास्थ्य सुविधाहरूमा सन् २०२४ को अन्त्य देखि सन् २०२६ को सुरुवातसम्मको अवस्थाको विश्लेषणमा आधारित प्रतिवेदन सार्वजनिक गरेको हो।
विश्लेषणले कुपोषित आमाहरूबाट जन्मेका शिशुहरूमा उच्च मृत्यु दर र गर्भपातलगाएतका समस्या देखाएको छ। इजरायलले अत्यावश्यक वस्तुहरूको प्रवाहमा नाकाबंदी र चिकित्सा सुविधाहरू लगायतमा पूर्वाधारमा आक्रमण जारी राखेका कारण यस्तो अवस्था सिर्जना भएको एमएसएफले जनाएको छ।
असुरक्षा, विस्थापन, सहायतामा प्रतिबन्ध, खाना र चिकित्सा सेवामा सीमितताले मातृ शिशर स्वास्थ्यमा विनासकारी प्रभाव पारेको उल्लेख गर्दै एमएसएप विज्ञप्तिसमेत जारी गरेको छ।
दुई वर्षको विनाशकारी द्वन्द्वपछि गत अक्टोबरदेखि युद्धविराम भए तापनि स्थिति अत्यन्त नाजुक रहेको पनि एमएसएफले चेतावनी दिइएको छ। यसैबिच एमएसएफले इजरायली अधिकारीहरूलाई गाजामा सहायता र आपूर्तिको निर्बाध प्रवेशलाई तुरुन्तै अनुमति दिन आह्वान गरेको छ।
एमएसएफले गत जुन र जनवरीको बीचमा खान युनूस र गाजा शहरका अस्पतालहरूमा नवजात सघन स्याहार कक्षमा उपचार गराइरहेका २०० भन्दा बढी आमा र नवजात शिशुहरूबाट तथ्याङ्क सङ्कलन गरेको बताएको छ।
विश्लेषणले आधाभन्दा बढी महिलाहरू गर्भावस्थाको कुनै न कुनै समयमा कुपोषणबाट प्रभावित भएको पत्ता लगाएको छ भने ती मध्ये एक चौथाइ अझै पनि कुपोषित अवस्थामा रहेको जनाइएको छ।
कुपोषित आमाहरूबाट जन्मेका ९० प्रतिशत शिशुहरू समय अगावै जन्मेको र ८४ प्रतिशतको जन्मदै वजन कम भएको प्रतिवेदनले पत्ता लगाएको छ। कुपोषणबाट प्रभावित आमाहरूबाट जन्मेका शिशुहरूमा नवजात मृत्युदर कुपोषणबिना आमाहरूबाट जन्मेका शिशुहरूको तुलनामा दुई गुणा बढी भएको एमएसएफले जनाएको छ।
एमएसएफले अक्टोबर २०२४ र डिसेम्बर २०२५ को बीचमा खान युनूसमा बाह्य रोगी उपचारात्मक आहार कार्यक्रममा भर्ना भएका छ महिना भन्दा कम उमेरका ५१३ जना शिशुहरूको तथ्यांकको आधारमा विश्लेषण गरेको जनाएको छ।