काठमाडौँ। कीर्तिपुर १०‚ पोडेटोलस्थित गुल्मीका २२ वर्षीय विपिन घिमिरेको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
धारिलो हतियार प्रयोग गरी घिमिरेको बुधबार हत्या भएको थियो।
पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका ४ घर भइ कीर्तिपुर बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका ८‚ सिनेमा हल बस्ने २२ वर्षीय रोशन विष्ट छन्।
कर्तव्य ज्यान लिने कसुरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज (बिहीबार) अदालतमा पेस गरेको हो। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।