काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

वैदेशिक व्यापार

नौ अर्बको व्यापार घाटा थपिने जोखिम

२५ बैशाख २०८३
अ+
अ-

सिड्नी। अस्ट्रेलिया सरकारले नेपालमा उत्पादित वनस्पतिजन्य खाद्यान्न आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ।

हालै नेपालबाट आयात गरिएका गुन्द्रुक, कोदो, भटमास, मकै र फापरजस्ता सामग्रीमा किरा भेटिएपछि अस्ट्रेलियाले प्रतिबन्ध लगाएको हो। यसले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली र नेपालको कृषि क्षेत्रका लागि दुखद मान्न सकिन्छ।

अस्ट्रेलियाको क्वारेन्टाइन नियमअनुसार अन्य मुलुकबाट वनस्पतिजन्य उत्पादन ल्याउँदा ती सामाग्रीलाई ‘मिथाइल ब्रोमाइड’ ग्यास प्रयोग गरी २४ देखि ४८ घण्टासम्म फ्युमिगेसन (विषादीकरण) गर्नुपर्ने हुन्छ। नेपालमा यस्तो अन्तर्राष्ट्रिय स्तरको फ्युमिगेसन प्रणाली नहुँदा यो समस्या निम्तिएको हो।

अस्ट्रेलियाको यो कदमबाट नेपाललाई व्यापार घाटा बढ्ने देखिन्छ। नेपालले करिब ९-१० महिनाको अवधिमा अस्ट्रेलियामा करिब एक अर्ब ५० करोड रुपैयाँबराबरको खाद्यान्न निर्यात गरेको छ। यही अवधिमा अस्ट्रेलियाबाट करिब १० अर्ब रुपैयाँबराबरको सामान नेपाल भित्रिएको छ।

अहिले नै झन्डै नौ अर्बको व्यापार घाटा रहेको अवस्थामा निर्यात रोकिँदा यो खाडल अझै बढ्ने निश्चित छ।

नेपालको कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन विभागले यो प्रतिबन्धको पुष्टि गरेको छ। सरकारले कीर्तिपुरको बागवानी केन्द्रनजिकै फ्युमिगेसन सेन्टर बनाउने प्रक्रिया अघि बढाए पनि त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवादका कारण बन्न सकेको छैन।

कृषिप्रधान देश नेपालका उत्पादनलाई विश्व बजारमा पुर्‍याउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रविधि र प्रणाली तत्काल जडान गर्नुपर्ने आवश्यकता छ।