घोराही। दाङको राजपुर गाउँपालिका ४‚ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको छ।
आज (शनिबार) दिउँसो रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ-दाउरा लिने विषयमा भएको विवादपछि राजपुर गाउँपालिका ४‚ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एकजनाको मृत्यु भएको हो।
विवादपछि रैदासले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। घटनापछि फरार रहेका रैदासको खोजी जारी रहेको बोहोराको भनाइ छ।