संस्कृति
वडाध्यक्ष भन्छन्- लिपि संरक्षण र करदाताको प्रोत्साहनका लागि परिचय पाटी दियौँ
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले रञ्जना लिपिको संरक्षणको पहल थालेको छ। यसका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमै राख्न सुरु गरिएको छ।
वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० करदातालाई उपहार स्वरूप पहिलो चरणमा बत्ती जडित बोर्ड जडान गरिदिएको हो। बोर्ड जडान कार्यको निरीक्षणका लागि कार्यवाहक प्रमुख सुनीता डंगोल झोछेँ पुगिन्।
कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिकबाट वसन्तपुरतर्फ, नौतले दरबारबाट झोछेँ हुँदै ओमबहालतर्फका व्यवसायीको व्यवसायमा परिचय पाटी जडान गरिएको छ। गोलाकार बोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बीचमा ठुलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरिक लिपिमा ठेगाना लेखिएको छ।
यो डिजाइनका लागि क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको हो। कार्यक्रम कार्यान्वयनमा झोँछे सामुदायिक समाजले संयोजन गरिरहेको छ।
“यो मौलिक र पर्यटकीय क्षेत्र हो। यो क्षेत्रको मौलिकता बचाउन र दृश्यात्मक सुन्दरता बढाउन हामीले यो काम अगाडि बढाएका हौँ‚” वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समिति संयोजक मचाराजा महर्जन भन्छन्, “रञ्जना लिपिको संरक्षण गर्न, व्यवसायहरूमा राखिने परिचय पाटीको आकार र शैलीमा एकरूपता कायम गराउन, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।”
महर्जनका अनुसार वडाभित्र करिब सात सय व्यावसायी छन्। दर्ता र नियमित कर तिर्ने करदातालाई चरणबद्ध रूपमा परिचय पाटी वितरण गर्दै लगिनेछ।
सम्पदा संरक्षणकर्मी एवं स्थानीय गणपतिलाल श्रेष्ठले वडाको कामबाट झोँछे क्षेत्रको मौलिकता र पर्यटन व्यवस्थापन योजनामा टेवा दिएको प्रतिक्रिया दिए। साना तर महत्त्वपूर्ण कामबाट नतिजा आउने बताउँदै उनले कामको निरन्तरताको अपेक्षा राखे।
