जुम्ला। जिल्लाको हिमा गाउँपालिका-२ स्थित ओदीमा सञ्चालन भएको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाका प्रथम भएको छ।
शुक्रबार भएको फाइनल खेलमा हिमाले २५ वटा स्वर्ण पदक प्राप्त गरी प्रथम भएको हो। चन्दननाथ नगरपालिकाले १४ वटा स्वर्ण पदक प्राप्त गरी दोस्रो स्थान हुँदा पातारासी गाउँपालिका पाँच स्वर्ण पदकसहित तेस्रो भएको हिमा गाउँपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख बमबहादुर शाहले जानकारी दिए।
यसैगरी क्रमशः कनकासुन्दरी गाउँपालिका चौथो, सिंजा पाँचौँ, तिला सातौँ र तातोपानी गाउँपालिकाका आठौँ भएका शाहले जानकारी दिए।
यहाँका सातवटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडी जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका उनले बताए।
जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिबल, एथलेटिक्स, कबड्डीलगायत खेल भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।
जिल्लाका आठवटा स्थानीय तहमध्ये गुठीचौर गाउँपालिकाबाहेक सात स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको ।