काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

झापा। नेपाल रेडक्रस सोसाइटी झापाले मनसुनमा बाढीबाट प्रभावित हुनससक्ने परिवारको पहिचान गरेको छ।

मौसम पूर्वानुमान र बाढीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका आठ हजार ९१५ परिवार सम्भावित जोखिम रहेको जनाइएको छ। रेडक्रसले हरेक वर्ष ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सार्वजनिक गर्दै आएको छ।

यस वर्षको मनसुनमा झापाका १४ पालिकाका ११ नदीमा आउनसक्ने बाढी र त्यसबाट प्रभावित हुनसक्ने परिवारको तथ्यांक प्रक्षेपण गरी सोहीअनुसार तयारीका लागि सार्वजनिक गरिएको रेडक्रस झापा शाखाका अधिकृत हरिशरण खड्काले जानकारी दिए।

‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’मा उल्लेख भएअनुसार यहाँ रहेका नदीमध्ये कनकाईबाट दुई हजार २४९, मेचीबाट एक हजार ९०, बिरिङबाट दुई हजार ११५, रतुवाबाट एक हजार ३३०, निन्दाबाट १५०, कमल र बनियानीबाट एक हजार १५ परिवार, हडियाबाट १७५ परिवार, देवनियाबाट ४४५ र टाङटिङ तथा नेतेबाट ३५० परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ।

कनकाईले झापा गाउँपालिकाको वडा १, २, ३ र ७, गौरीगन्ज गाउँपालिकाको वडा १ र २, शिवसताक्षी नगरपालिकाको ४, ५, ६, ७ र १० मा र कनकाई नगरपालिकाको वडा ४ मा २४९ घरधुरीलाई प्रभावित पार्नसक्ने जनाइएको छ।

यसैगरी बिरिङ नदीले कनकाई नगरपालिकाको ६ र ९, बाह्रदशी गाउँपालिकाको १, २, ३, ४, ५ र ७ मा, कचनकबल गाउँपालिकाको १, झापा गाउँपालिकाको ४, ५ र ७, अर्जुनधारा नगरपालिकाको १, ४, ७ र ८ र बुद्धशान्ति गाउँपालिकाको २ मा गरी कुल दुई हजार २१५ परिवारलाई यसपालिको बर्खामा प्रभावित पार्नसक्ने अनुमान गरिएको छ।

रेडक्रसले मनसुनबाट निम्तिने विपत्‌बाट प्रभावितको उद्धार, आश्रयस्थल र राहत वितरणको समेत पूर्वतयारी गर्दै आएको छ। प्रतिकार्य योजनाअनुसार जिल्लाका मुख्य नदीनालाबाट प्रभावित हुनसक्ने स्थान र आश्रयस्थलको विवरण तयार पारेर सोहीबमोजिम पूर्वतयारी गरिएको शाखा अधिकृत खड्काले बताए।

उनका अनुसार जिल्लाका १४ पालिकाका ११२ स्थानलाई विपद्का बेला प्रभावित परिवारलाई राख्ने आश्रयस्थल तोकिएका छन्। अधिकांश आश्रयस्थल विद्यालय, सामुदायिक भवन र स्थानीय तहका संरचनामा छन्।