इस्लामावाद। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका लागि १.२ अर्ब अमेरिकी डलरबराबरको ऋण सहायता दिने भएको छ।
आईएमएफको शुक्रबार बसेको कार्यकारी बोर्डको बैठकले रकम निकासा गर्ने निर्णय गरेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार यो रकम अहिले जारी दुई फरक वित्तीय कार्यक्रमअन्तर्गत उपलब्ध गराइनेछ।
जसमा ईएफएफ (एक्स्टेन्डेड फन्ड फेसिलिटी) अन्तर्गत एक अर्ब डलर र आरएसएफ (रेजिलेन्स एन्ड सस्टेनेबिलिटी फेसिलिटी) अन्तर्गत करिब २१ करोड डलर रहेको छ।
यसअघि सेप्टेम्बर २०२४ मा आईएमएफले पाकिस्तानका लागि ३७ महिनाको अवधिमा सात अर्ब डलरको सहायता प्याकेज (ईएफएफ) घोषणा गरेको थियो। यसका साथै जलवायु परिवर्तन र दिगो विकासका चुनौती सामना गर्न १.४ अर्ब डलर थप सहायता (आरएसएफ) दिने निर्णय गरेको थियो।
आईएमएफको ऋण स्वीकृतिसँगै पाकिस्तानलाई आफ्नो डगमगाउँदो अर्थतन्त्र सुधार्न र विदेशी मुद्रा सञ्चितिमा राहत मिल्ने अपेक्षा गरिएको छ।