न्युयोर्क। अमेरिकाको ओहायोमा एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
नेपाली मूलका नागरिकलाई विमानास्थलका प्रस्थान र आगमन कक्षमा विशेष व्यवस्था गरिदिएको भन्दै एएनओले शनिबार ओहायो राज्यमा बसोबास गर्ने नेपालीको बृहत् भेलामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको हो।
एएनओका अध्यक्ष डिल्ली अधिकारीले हस्ताक्षर गरी नेपाल सरकारलाई दिएको धन्यवादपत्र अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणलाई हस्तान्तरण गरे। धन्यवादपत्र ग्रहण गर्दै कार्यवाहक राजदूत आरणले सरकारको कार्यको सह्राना गर्दै एएनओप्रति आभार व्यक्त गरे। उनले सरकारको कामको खुलेर प्रसंसा गरेको पत्र पाउँदा हर्षित भएको पनि बताए।
पत्र हस्तान्तरण गर्दै एएनओ अध्यक्ष अधिकारीले नेपाली मूलका नागरिकलाई नेपाल सरकारले भावनात्मक रूपले जोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमन डेस्कको स्थापना गरी कार्य प्रारम्भ गरेकामा विश्वभरिका नेपाली उत्साहित भएको बताए।
एएनओको निवेदनका आधारमा गत ८ चैतमा सरकारले नेपाली मूलका विदेशी नागरिककका लागि विशेष व्यवस्था गर्दै डेस्क स्थापना गरेको थियो। कार्यक्रममा एएनओका माहासचिव चूडामणि भट्टराईले धन्यवाद पत्र वाचन गरेर सुनाएका थिए।

एएनओको धन्यवाद पत्रमा भनिएको छ, “नेपाल सरकारले गत चैत ८ गते गरेको ऐतिहासिक निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा नेपाली मूलका नागरिकहरूका लागि छुटै डेस्क स्थापना गरिएकोमा हामी अत्यन्तै हर्षित र गौरवान्वित भएका छौं। एएनओको विशेष पहल र निवेदनलाई हृदयंगम गरी सरकारले चालेको यो कदमले विश्वभर छरिएर रहेका नेपालीमूलका समुदायमा मातृ तथा पितृभूमिप्रतिको भरोसा र अपनत्वलाई थप प्रगाढ बनाएको छ। हाम्रो बुझाइमा यो सम्बन्ध केवल भौगोलिक सीमा वा राहदानीमा मात्र सीमित हुँदैन। यो त हाम्रो पुर्खाको इतिहास, हाम्रो पहिचान र भावनात्मक अस्तित्वसँग जोडिएको अटुटबन्धन हो। विमानस्थलमा पाइला टेक्नासाथ आफ्नै देशले गरेको यो न्यानो स्वागत र सम्मानले हामीलाई केवल सुविधामात्र दिएको छैन, बरु हामी जहाँ भएपनि, नेपाल हाम्रो साथमा छ भन्ने आत्मीय अनुभूतिसमेत दिलाएको छ। नेपाली मूललाई नेपालसँग जोड्ने हाम्रो साझा अभियानमा यो निर्णयले नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको छ। यसले भावी पुस्तालाई समेत आफ्नो जरा र माटोप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने छ भन्ने हाम्रो विश्वास छ।”
कार्यक्रममा हाल नेपालमा छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐन २०८२ को पहिलो मस्यौदामा नेपाली मूलका मानिसबीच भेदभाव गरेकोप्रति एएनओले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो। अध्यक्ष अधिकारीले ध्यानाकर्षणपत्र कार्यवाहक राजदूतलाई हस्तान्तरण गर्दै संसारको जुन मुलुकमा जन्मे पनि विश्वभरका नेपाली मूलका मानिसलाई नेपाल सरकारले भेदभाव नगरी परिचयपत्र दिनुपर्ने बताए।
उनले सार्क मुलुकभित्र जन्मेकालाई पनि यदि तेस्रो देशको नागरिक भइसकेको भए तिनले नेपाली मूल हुन पाउनुपर्ने माग गरे। मस्यौदामा यो कुरा उल्लेख गरिएको छैन।
सरकारका तर्फबाट कार्यवाहक राजदूत आरणले एएनओको चासोलाई नेपाल सरकारसमक्ष पुर्याउने बताए। उनले विश्वभरका नेपाली समेट्ने एएनओको अभियानको प्रसंसा गरेका थिए।
एएनओ अमेरिकाका सचिव विवेक पौडेलले स्वागत गरेको तथा प्रवक्ता केशव आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा इन्ट्रा फाउन्डेसनको गायन र नृत्य कक्षाका विद्यार्थीहरुले नेपाली सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए।