काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी अब हुलाकबाटै सेवाग्राहीको घरमा पुर्‍याउने भएको छ।

यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्देशनअनुसार सम्झौता भएको हुलाक निर्देशनालय सुर्खेतका निर्देशक पाण्डेले जानकारी दिए।

निर्देशक पाण्डेले सर्तअनुसार हुलाक निर्देशनालय सुर्खेतले जिल्ला प्रशासनले उपलब्ध गराएको राहदानी बढीमा सात दिनभित्र सेवाग्राहीको घरमा पुर्‍याउनु पर्नेछ।

विविध कारणबसः वितरण गर्न नसकेका राहदानी जिल्ला प्रशासन कार्यालयलाई फिर्ता गर्नुपर्ने तथा राहदानी सुरक्षा संवेदनशीलता ध्यानमा राखी सुरक्षित साथ ढुवानी र वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

गृह मन्त्रालय तथा हुलाक सेवा विभागको परिपत्रअनुसार राहदानी सेवा घरदैलोमा उपलब्ध गराउँदा लाग्ने नियमानुसारको हुलाक दस्तुर/महसुल सम्बन्धित सेवाग्राहीबाट असुलउपर गरिने निर्देशक पाण्डेले बताए।

उनका अनुसार हुलाक निर्देशनालयले राहदानी वितरणका लागि १०० थान खाममा हुलाक महसुलबापत लाग्ने टिकट टाँस गरी प्रशासनका कार्यालयको राहदानी शाखामा बुझाउनेछ। सम्झौता आजैदेखि लागू हुनेछ।