ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन्।
पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढंगले क्रियाशील हुन आग्रह गरे।
उनले राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उक्त अपेक्षा र पार्टीप्रतिको विश्वासलाई परिणाममा बदल्नुपर्नेमा जोड दिए। “नेपालको लोकतन्त्र महत्त्वपूर्ण मोडमा उभिएको छ। यसलाई सशक्त बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ। राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, सुशासन, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास आवश्यक छ। त्यसको आधार तयार गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो‚” उनले भने।
उपनेता पराजुलीले प्रशिक्षणबाट हासिल हुने अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले संसद् र संसदीय समितिको भूमिका, पार्टी-संसद् र सरकारबीचको समन्वय, संसदीय मर्यादा र आचरण, तथ्यमा आधारित बहस, जनउत्तरदायी राजनीतिक व्यवहार तथा प्रभावकारी नेतृत्व विकासजस्ता विषयमा प्रशिक्षण केन्द्रित रहने बताए।
“आजको राजनीति केवल नाराले चल्दैन। क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ। जनताले अब कसले के भन्योभन्दा पनि कसले के गर्यो भन्ने आधारमा मूल्यांकन गर्न थालेका छन्‚” उपनेता पराजुलीले भने, “रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको छ। त्यसैले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसद्को आवश्यकता छ।”
उनले प्रशिक्षणलाई औपचारिक कार्यक्रम मात्र नभई सिकाइ, आत्ममूल्यांकन, अनुभव आदानप्रदान तथा भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गरे।
उद्घाटन समारोहपछि उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले बन्दसत्रमा सांसदहरूलाई प्रशिक्षण दिएका थिए। यसैगरी महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वय तथा उपनेता पराजुलीले संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिएका थिए। प्रशिक्षण कार्यक्रम आइतबार पनि जारी रहने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।