काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

काठमाडौं । पश्चिम एसियामा एकपटक फेरि तनाव बढ्दै गएको छ । इरानले आफ्नो तेल निर्यातलाई प्रभावित गर्ने प्रयास गरिरहेका भन्दै उसको नौसेनाले ‘ओसन कोई’ नामक एक तेल ट्यांकरलाई कब्जामा लिएको दाबी गरेको छ ।

इरानी सेनाका अनुसार, यो कारबाही ओमानको खाडीमा गरिएको हो, जहाजलाई इरानको दक्षिणी तटतर्फ लगेर न्यायिक अधिकारीहरूलाई सुम्पिएको छ ।

इरानी सेनाले उसको नौसेनाले होर्मुज जलमार्गनजिकै अमेरिकी युद्धपोत जहाजहरूलाई निशाना बनाउँदै क्रुज मिसाइल, रकेट र ड्रोनको प्रयोग गरेको बताएको छ ।

यो कारबाही उसको तेल ट्यांकरहरूमाथि भएको अमेरिकी हमलाको जवाफमा गरिएको इरानको दाबी छ । इरानी सेनाका अनुसार, जवाफी कारबाहीपछि अमेरिकी युद्धपोतहरूले आफ्नो बाटो बदलेर उक्त क्षेत्र छोडेका थिए ।

अमेरिकाको सेन्ट्रल कमान्डले अमेरिकी सेनाले ‘एम/टीसी स्टार ३’ नामक दुई जहाजहरूलाई निष्क्रिय पारिदिएको बताएको छ।

अमेरिकाका अनुसार, यी जहाजहरू अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गर्दै इरानी बन्दरगाहतर्फ बढिरहेका थिए । अमेरिकी नौसेनाको एफ/ए–१८सुपर हर्नेट लडाकु विमानले दुवै जहाजको धुवाँ निस्कने भागलाई निशाना बनाएर तिनीहरूलाई अगाडि बढ्नबाट रोकेको थियो ।

इरानको विदेश मन्त्रालयले अमेरिकी कारबाहीलाई अप्रिल ८ को युद्धविराम सम्झौताको उल्लंघन भनेको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, “जब कूटनीतिक समाधान उपलब्ध छ, तब अमेरिकाले लापरवाह सैन्य बाटो रोजेको छ ।” उनले इरानको मिसाइल क्षमता पहिलेभन्दा धेरै बलियो भइसकेको र देश दबाबका अगाडि नझुक्ने प्रस्ट पारे ।

इरानको आरोपपछि अमेरिकाले आफ्नो उद्देश्य तनाव बढाउनु नरहेको र अप्रिल ८ को युद्धविराम अझै पनि प्रभावी रहेको बताएको छ ।

विज्ञहरूले होर्मुज जलमार्गमा बढ्दो सैन्य गतिविधिले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय राजनीतिमा असर पार्नसक्ने बताएका छन् । पीबीएस