चितवन। भरतपुर महानगरपालिका ४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ। तीमध्ये ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही २३ वैशाखमा भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए।
“हालसम्म बिरामी भएका ९३ मध्ये ५० जना उपचाररत छन्। दुईजनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएकामा अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ। बिरामी सबैको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ‚” पुरीले भने।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिए।
डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताए। बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको छ।