काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
फाइल तस्बिर
अ+
अ-

इस्लामावाद। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आत्मघाती आक्रमणमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या १५ पुगेको छ।

बन्नु जिल्लास्थित एक प्रहरी चौकीलाई लक्षित गरी भएको हमलामा ठुलो क्षति भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानका अनुसार अस्पताल ल्याइएका १५ जनाकै मृत्यु भएको हो। ज्यान गुमाउने सबै प्रहरी कर्मचारी हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार बन्नु सहरको बाहिरी इलाकामा रहेको ‘फतेह खेल’ प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको एक सवारीसाधनमा ठोक्काइएको थियो। विस्फोट यति शक्तिशाली थियो कि प्रहरी चौकीको भवन पूर्ण रूपमा ध्वस्त भएको छ।

सुरक्षा अधिकारीका अनुसार सुरुमा विस्फोटक भरिएको गाडीले चौकीमा ठक्कर दिएको थियो। विस्फोटलगत्तै सशस्त्र चरमपन्थी चौकीभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। भवनको भग्नावशेषबाट १२ जनाको शव निकालिएको थियो भने अन्यको उपचारका क्रममा मृत्यु भएको हो।

बन्नु रेन्जका प्रहरी अधिकारी सज्जाद खानको कार्यालयले दिएको जानकारीअनुसार भवनबाट तीन जनालाई जीवितै उद्धार गरिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।

खैबर पख्तुनख्वा क्षेत्रमा पछिल्लो समय सुरक्षाकर्मीलाई लक्षित गरी हुने यस्ता आक्रमणमा तीव्रता आएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिए पनि प्रहरीले उक्त क्षेत्रमा व्यापक सर्च अपरेसन सुरु गरेको छ।