मधेस प्रदेश
जनकपुर। नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको वर्तमान मधेस प्रदेश सरकारलाई निरन्तरता दिने चार राजनीतिक दलले निर्णय गरेको छ।
सत्ता साझेदार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता युवराज भट्टराई, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जयनुल राइन सहभागी बैठकले आइतबार यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ।
चार दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “मधेस प्रदेश सरकारमा सहभागी सत्तासाझेदार दलका नेताहरूको बैठक बसी वर्तमान मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवज्यूको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिँदै यथाशीघ्र विश्वासको मत लिने निर्णय गरिएको छ।”
नेकपा संसदीय दलका नेता भट्टराईले बजेट कार्यान्वयन गर्ने र नयाँ बजेट आउने अवस्थामा सरकार परिवर्तन हुँदा यसले जनतामा नकारात्मक र विकास कार्यप्रति अवरोध हुने भएपछि सहमति गरिएको बताए।
सरकारमा सहभागी जनमत पार्टीले समर्थन फिर्ता लिएपछि चार राजनीतिक दलको बसेको बैठकले यस्तो निर्णय गरेको हो। ३० दिनभित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्नेछ। २२ वैशाखमा जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
वर्तमान गठबन्धनमा सहभागी नेपाली कांग्रेससँग २२, जसपाको १७, नेकपाको १५, लोसापाको आठ प्रदेश सभा सदस्य छन्। सरकारलाई विश्वासका लागि ५४ मत पर्छ। वर्तमान सरकारसँग ६२ प्रदेश सभा सदस्यको समर्थन छ।
