बेरुत। लेबनानको राजधानी बेरुतनजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा १७ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक १२ वर्षीया बालिका पनि छन्।
स्थानीय सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेरुतको दक्षिणी क्षेत्रमा सवारीसाधनलाई लक्षित गरी गरिएको तीनवटा ड्रोन आक्रमणमा चारजनाको ज्यान गएको हो। त्यस्तै दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप १३ जनाको मृत्यु भएको बताइएको छ।
इजरायल र हेजबुल्लाहबीच १७ अप्रिलमा युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिकजसो आक्रमण भइरहेका छन्। पछिल्ला घटनाले युद्धविरामपछि पनि तनाव कम नभएको संकेत गरेको छ।
इजरायली वायुसेनाले बुधबार राति बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्दै हेजबुल्लाहका एक वरिष्ठ सैन्य अधिकारी मारिएको दाबी गरेको थियो। युद्धविरामपछि राजधानीनजिक गरिएको यो पहिलो आक्रमण मानिएको छ।
शनिबार भएका दुई आक्रमण बेरुतलाई दक्षिणी बन्दरगाह सहर सैदासँग जोड्ने राजमार्ग क्षेत्रमा भएका थिए। आक्रमणमा केही व्यक्ति घाइते भएका छन्। अर्को आक्रमण लेबनानको चोउफ क्षेत्रतर्फ जाने सडकमा भएको थियो, जहाँ तीनजनाको मृत्यु भएको छ।
दक्षिणी गाउँ साक्साकियेहमाथि गरिएको अर्को हवाई आक्रमणमा सातजनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच दक्षिणी लेबनानका बुर्ज रहाल र माइफादौन क्षेत्रमा पनि आक्रमण भएको र त्यहाँ थप मानवीय क्षति भएको समाचारमा उल्लेख गरिएको छ।