सिड्नी। सिड्नीको क्याम्पसीस्थित एक नेपाली रेस्टुरेन्टले खाद्य सुरक्षा मापदण्डको उल्लंघन गरेको ठहर गर्दै अस्ट्रेलियाको अदालतले जरिवानासँगै सजाय सुनाएको छ।
‘खुकुरी नेपाली रेस्टुरेन्ट’ सञ्चालन गरिरहेको ‘वाईडीआर हस्पिटालिटी ग्रुप प्रालि’ र त्यसका निर्देशक ज्वलन्त खतिवडालाई मंगलबार बरउड स्थानीय अदालतले दोषी ठहर गरेको हो।
अदालतले एनएसडब्ल्यू फूड एक्ट २००३ अन्तर्गतका १२ वटा विभिन्न मुद्दामा कम्पनी र निर्देशकलाई कुल ३७ हजार पाँच सय डलर जरिवाना गर्ने फैसला सुनाएको छ। रेस्टुरेन्टमा स्वास्थ्य मापदण्ड पालना नभएको, सरसफाइमा लापरबाही गरिएको र असुरक्षित खाना बिक्री गरी जनस्वास्थ्यमा जोखिम पुर्याएको आरोप पुष्टि गरिएको छ।
घटनाको अनुसन्धान सन् २०२३ मा सुरु भएको थियो। जब उक्त रेस्टुरेन्टमा खाना खाएपछि ग्राहक बिरामी परेको उजुरी परेको थियो। न्यु साउथ वेल्सको प्राथमिक उद्योग र क्षेत्रीय विकास विभागका अनुगमन अधिकारीहरूले निरीक्षणका क्रममा भान्साको भुइँ र उपकरण अत्यन्तै फोहोर भएको, मुसाको बिष्टा भेटिएको र खानालाई उचित ढंगले छोपेर नराखेको भेटाएका थिए।
प्रयोगशालामा गरिएको परीक्षणमा रेस्टुरेन्टका दुईवटा पाकेका परिकार र भान्साका विभिन्न ठाउँमा ‘साल्मोनेला रिडिङ’ नामक खतरनाक जीवाणु फेला परेको थियो।

जेनोमिक सिक्वेन्सिङमार्फत गरिएको अनुसन्धानले सोही रेस्टुरेन्टको खानाका कारण समुदायमा साल्मोनेला संक्रमण फैलिएको प्रमाणित गरेको थियो। स्वास्थ्य विभागको सिफारिसमा अधिकारीहरूले तत्कालै रेस्टुरेन्टलाई व्यापार बन्द गर्न आदेशसमेत दिएका थिए।
फैसलापछि एनएसडब्ल्यू फूड अथोरिटीका सीईओ एन्ड्रयु डेभिसले सिड्नीका अधिकांश खाद्य व्यवसायीले नियम पालना गरे पनि सुरक्षा मापदण्ड मिच्ने थोरै व्यवसायीका कारण जनस्वास्थ्य खतरामा पर्ने बताए।
उनले उपभोक्तालाई सुरक्षित र स्वच्छ वातावरणमा तयार पारिएको खाना खान पाउने पूर्ण अधिकार रहेको उल्लेख गर्दै लापरबाही गर्ने जोसुकैलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।