काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ बैशाख २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र जिम्मेवारी बाँडफाँटका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले वडादेखि जिल्ला तहसम्मको अधिवेशन तालिका स्वीकृत गर्नुका साथै विभिन्न विभागमा नयाँ नियुक्तिसमेत गरेको छ।

बैठकले अधिवेशनको विशेष तालिका सार्वजनिक गरेको छ। जसअनुसार पार्टीले आगामी जेठ महिनाभर सञ्चालन हुने गरी वडा, पालिका र जिल्ला अधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ।

रास्वपाका अनुसार २ जेठमा समिति गठन नभएका वडामा भेला र ३ जेठमा २० वैशाखअघि समिति बनेका वडामा अधिवेशन गरिने भएको छ। बाँकी वडाहरूको अधिवेशन १६ जेठमा गर्ने तय भएको छ।

यसैगरी पालिका तहमा ९ जेठमा नयाँ भेला‚ १० जेठमा २५ वैशाखअघि समिति बनेका पालिकामा अधिवेशन गर्ने र बाँकी पालिकाहरूको अधिवेशन १७ जेठका लागि तोकिएको छ।

यसैगरी सबै जिल्लाहरूको अधिवेशन २३ र २४ जेठमा सम्पन्न गरिनेछ।

पार्टीले विभिन्न विभाग र प्रदेश संरचनामा रिक्त रहेका पदहरूमा मनोनयनसमेत गरेको छ। जसअनुसार समन्वय विभाग प्रमुखमा वैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा विदुर खड्कालाई मनोनयन गरिएको छ। यसैगरी स्टार्टअप विभाग प्रमुखमा प्रभात अधिकारी र सचिवमा हरि जोशीलाई मनोनयन गरिएको छ। शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे‚ कर्णाली प्रदेश सहममन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदीलाई मनोनयन गरिएको छ। यस्तै केन्द्रीय संगठन विभाग सदस्यमा कर्णालीका गोपाल प्याकुरेल र कञ्चनपुर जिल्ला सभापतिमा पदम विष्टलाई मनोनयन गरिएको छ।

यसैगरी बैठकले पार्टी अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गरेको छ। प्रदेश समितिको सिफारिसमा बारा जिल्ला समिति विघटन गरिएको छ। त्यहाँ नयाँ अधिवेशनको तयारी सुरु गर्न निर्देशन दिइएको छ। त्यसैगरी पार्टी हितविपरीत कार्य गरेको अभियोगमा विभिन्न जिल्लाका १५ सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ।

सचिवालय बैठकले आइतबार गरेका निर्णयहरू र थप सांगठनिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आगामी ३० वैशाखका लागि बोलाएको छ।