काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्थालगायतका सुधारात्मक प्रयासका कारण समयमै एसईईको नतिजा प्रकाशन गर्न सम्भव भएको बताएका छन्। सोमबार राति एसईईको परीक्षाफल प्रकाशित भए लगत्तै सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताका कारण परीक्षाफल करिब एक महिनामै सार्वजनिक गर्न सकिएको बताएका हुन् ।
शिक्षामन्त्री पोखरेलले भनेका छन्, ‘एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु नेपालको शिक्षा प्रशासनका लागि केवल एउटा नियमित प्रक्रिया मात्र होइन, समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण पनि हो।’
उनले सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरेका छन् । मन्त्री पोखरेलले यही गति र सुधारलाई +२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिबद्ध रहेको समेत बताएका छन्