काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमालगायत राष्ट्रसंघअन्तर्गतका अन्य नियोगको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा आपसी सम्बन्ध र दुईपक्षीय हितका विषयमा कुराकानी भएको छ। संयुक्त राष्ट्रसंघका नियोगहरूबाट नेपालको शिक्षा क्षेत्रमा रहँदै आएको सहकार्य र सहयोगका सन्दर्भमा पनि छलफल भएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

शिक्षामन्त्रीसँगको भेटमा संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) का निमित्त देशीय प्रतिनिधि जी हुनरा, विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी), संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लगायत राष्ट्रसंघका विभिन्न नियोगका प्रतिनिधिको उपस्थिति थियो।

भेटमा शिक्षामन्त्री पोखरेलले राष्ट्रसंघ नियोगहरूले शिक्षा क्षेत्रमा पुर्याउँदै आइरहेको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

भेटमा विशेषगरी युनिसेफले नेपालको समावेशी शिक्षा, ‘इभिडेन्स वेस लर्निङ’, प्रविधिको प्रयोग, दिगो विकास लक्ष्यका उपलब्धि कार्यान्वयनका लागि समन्वय र सहकार्य, साक्षरता, जीवनपर्यन्त सिकाइको क्षेत्रमा गरिआएको सहयोगको विषयमा छलफल भएको छ।

आईओएममार्फत विदेशमा रहेका विद्यार्थीको मानसिक स्वास्थ्यजस्ता विषयमा ध्यान दिनेबारे उनीहरूबीच कुराकानी भएको छ।

साथै विश्व खाद्य कार्यक्रमअन्तर्गत नेपालको विद्यालय दिवा खाजाको क्षेत्रअन्तर्गत पौष्टिक खाजाका लागि स्थानीय कृषकले उत्पादन गरेको सामग्री खाद्यमा जोड्ने तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले नेपालको शिक्षाको बृहत् यौनिक शिक्षा कार्यक्रम, ‘डिजिटल लर्निङ’ का क्षेत्रमा गरेको काम र संयुक्त राष्ट्रसंघीय बसाइँसराइसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाले नेपालको सुरक्षित बसाइसराइको क्षेत्रमा पुर्‍याउँदै आएको सहयोग र भविष्यमा गर्न सकिने सहयोगका क्षेत्रहरूमा केन्द्रित रहेर कुराकानी भएको छ।

शिक्षामन्त्री पोखरेलले अबको दिनमा समावेशी शिक्षा, शिक्षकको पेसागत विकास, शिक्षा, विज्ञान र प्रविधिको प्रयोग, डिजिटल लर्निङलगायत क्षेत्रमा थप सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको विचार व्यक्त गरे।

आवासीय प्रतिनिधि याहिमाले शिक्षा क्षेत्रमा संयुक्त राष्ट्रसंघका नियोगहरूको प्राथमिकता रहेको र आगामी दिनमा पनि सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।