काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खेल मैदान बन्नुपर्ने ठाउँ गौचरन बन्दै, कुलत नियन्त्रणको योजना प्रभावित

२८ बैशाख २०८३
अ+
अ-

झापा। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले निर्माण सुरु गरिएको कबडहल चार वर्षदेखि अलपत्र परेपछि स्थानीय युवाको सपना अधुरो बनेको छ।

प्रदेश सरकार र स्थानीय तहको उदासीनताका कारण लाखौँ रुपैयाँ लगानी भएको संरचना अहिले प्रयोगविहीन बनेको हो।

वडा कार्यालय नजिकै स्थानीय दाताले उपलब्ध गराएको जग्गामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा कबडहल निर्माण सुरु गरिएको थियो।

प्रदेश सरकारको २५ लाख र नगरपालिकाको ७ लाख रुपैयाँ गरी ३२ लाख रुपैयाँ खर्चिएर गत आर्थिक वर्ष ०८०/०८१ मा निर्माण थालिएको भए पनि काम पूरा हुन सकेको छैन। अहिले निर्माण गरिएका पोलमा खिया लाग्न थालेको छ भने वरपरको क्षेत्र गौचरनजस्तै बनेको स्थानीय बताउँछन्।

स्थानीय सरकारको योजना अनुसार उक्त कबडहल युवालाई खेलकुदमा जोड्ने, लागुऔषध तथा अन्य कुलतबाट टाढा राख्ने र सामुदायिक गतिविधिको केन्द्र बनाउने उद्देश्यले निर्माण गर्न खोजिएको थियो। तर निर्माण अधुरै रहँदा युवाले खेल अभ्यास गर्ने सुरक्षित स्थान पाउन सकेका छैनन्।

वडा अध्यक्ष मनोज खुलाल का अनुसार वडामा बढ्दो कुलत नियन्त्रण गर्न खेलकुदलाई माध्यम बनाउने सोचका साथ योजना ल्याइएको थियो।

‘युवालाई खेलतर्फ आकर्षित गराएर अनुशासित र स्वस्थ बनाउने उद्देश्य थियो,’ उनले भने, ‘तर योजना सम्पन्न नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन।’

स्थानीय युवाका अनुसार यदि कबडहल सञ्चालनमा आएको भए भलिबल, ब्याडमिन्टन, कबड्डी लगायतका खेल नियमित सञ्चालन गर्न सकिन्थ्यो। वर्षायाममा पनि खेल गतिविधि निरन्तर हुने भएकाले युवामा सकारात्मक ऊर्जा बढ्ने उनीहरूको विश्वास छ।

खेलकुद क्षेत्रका जानकारहरूका अनुसार गाउँस्तरमा यस्ता पूर्वाधार निर्माण हुँदा युवामा नेतृत्व क्षमता, अनुशासन र सामूहिक भावना विकास हुन्छ। यसले कुलत, झैझगडा र सामाजिक विकृतिमा कमी ल्याउन समेत मद्दत पुर्‍याउँछ। तर अधुरा संरचनाले भने युवामा निराशा बढाउने र सरकारी योजनाप्रति अविश्वास पैदा गर्ने खतरा रहन्छ।

नगरपालिकाका इन्जिनियर उत्तम बराल का अनुसार अब करिब ४० लाख रुपैयाँ थप लगानी भए आधुनिक सुविधासहितको कबडहल निर्माण सम्पन्न गर्न सकिन्छ।

स्थानीयवासीले निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार समयमै योजना पूरा भए वडा नम्बर ६ खेलकुद गतिविधिको केन्द्र बन्न सक्ने सम्भावना अझै बाँकी छ।