काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
अ+
अ-

अर्घाखाँची। अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

सन्धिखर्क घुम्ती-तानसेन पाल्पा खण्डअन्तर्गत पाणिनी ८‚ को कुरुलेफाँटनजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एकजनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दिवसबहादुर जीसीले बताए।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका ५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका ५ का बसचालक ४५ वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए।

घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालका घाइतेलाई पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ।

घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ।

सुपा देउराली दर्शन गरी पर्वत फर्किंदै गरेको पर्वतको ध.१ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जीसीले जानकारी दिए।

प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जंगलमा करिब १०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।