काठमाडौं। नेपालमा हाल कायम विभिन्न मौसमी प्रणालीका कारण आज कोशी, बागमती र गण्डकी लगायतका चार प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ।
महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली,स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका पहाडी भूभाग र तराईका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मौसम आंशिक बदली रहनेछ।
राति पनि मौसममा सुधार हुने देखिँदैन । विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा र हिमपातको स्थिति रहने पूर्वानुमान गरिएको छ।
चट्याङ र वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।