काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन्।
आज आयोजित छलफलमा उनले कर्मचारीहरूले नियमविपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएकी हुन्।
मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने उनको सचिवालयले जनाएको छ। “संस्थान घाटामा छ। किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन। त्यसैले यस्तो कार्य तत्काल रोकौँ, संस्थानको हितका लागि गम्भीर भएर काम गरिनुपर्छ‚” निर्देशनका क्रममा चौधरीले भनिन्।
कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ।